Views
»
देउसी, पिकनिक र नाकावन्दी:- प्रभात सुवेदी
देउसी, पिकनिक र नाकावन्दी:- प्रभात सुवेदी
मानव जीवनको बारेमा शास्वत सत्य परिभाषा सायदै भेट्न सकिएला । कसैको विचारमा जीवन भनेको रमझम पनि हुन सक्ला, जसले जीवनका अधिक समयहरु रमझममा नै ब्यतित गर्न मन पराउँछन् । कसैको विचारमा जीवनमा केही न केही गरेरै छाड्नु पर्छ भन्ने होला । जस्तो कि कसैले घरपरिवारको सुखका लागि सम्पत्ती आर्जन गर्नुलाई जीवनको परिभाषामा सिमित राख्छन् होला । कोही भने जीवनलाई सामाजिक कार्यमा लगाउलान् कोही भने दुई दिनको जिन्दगी भनेर मोजमस्तीमा नै रमाउन पुगेसम्म सम्पत्ती उडाएर भौतिक सुःखमा रमाउलान् ।उपरोक्त प्रसङ्ग किन कोट्याउन खोजिएको हो भने, आजभोली हामीहरुमा सामाजिक सद्भाव र सहकार्यताका भावनाहरु बिस्तारै हराउँदै गएको पाइएको छ ।
पहिले पहिले गाउँमा कसैलाई कुनै साह्रो गाह्रो प¥यो भने सारा गाउँका मानिसहरु हरतरहले सहयोग गर्नका लागि तत्पर हुने गर्दथे । जसले जसरी हुन्छ सहयोग गर्दथे । अझ पहाडतिरको कुरा गर्ने हो भने अझै पनि कसैको घर बनाउन प¥यो भने सारा गाउँलेहरु मिलेर कुनै चाडबाड वा उत्सव नै हो कि भनेझैं गरेर भेला भएर घर बनाउने अनि सँगै खाने प्रचलन रहेको छ ।
तर आजभोली घरको समस्याको कुरा त परै जाओस्, बाटोघाटोमा कोही मानिस आपतविपत् परेर लडिरहेको छ वा सहयोगको याचना मागिरहेको छ भने पनि वास्तै नगर्ने अवस्था आएको छ । हो, समाज परिवर्तनशील छ, गतिशिल पनि छ । यो गतिशिलताको पनि सिमा नुहुने रहेछ । यो गतिशिलतासँगै हाम्रा मौलिक संस्कारहरु पनि बिस्तारै कुसंस्कारमा परिवर्तन भैरहेका छन् । ती कुसंस्कारका कारण हाम्रा बालबालिकाहरुले आज अग्रजहरुको सम्मान गर्न बिर्सेका छन् अर्थात मानसम्मान जबरजस्ती र करकापका कुरा बन्दै गएका छन् । बालबालिकामा नैतिक शिक्षाको अभावका कारण आज ढोग वा दण्डवतको प्रचलन पनि विस्तारै हराउँदै गएको छ । भर्खरै मात्र हिन्दू धर्मावलम्बीहरुका महान पर्वहरु दशैं, तिहार अनि तराईको विशेष पर्व छठ सकिएका छन् । पर्वहरु त प्रत्येक वर्ष आउँछन् जान्छन् । ऋतुहरुको आगमनसँगै आउने पर्वहरुको धर्म भनेको आइदिने र गइदिने मात्रै होला तर हामी मानव जातिलाई संस्कारित गर्र्नु, सामाजिक सद्भाव, शान्ति, सहिष्णुता स्थापित गर्दै समग्र मानव मानव बिचमा सुमधुर सम्बन्ध गाँस्न र त्यो सम्बन्धलाई दिगो बनाउका लागि सार्थक बनाउन सक्नु नै यस्ता पर्वहरुको उद्देश्य हुन सक्छ । यस प्रकारका पर्वहरु जुनसुकै धार्मिक, सांस्कृतिक वा सामाजिक आस्था वा विश्वासका आधारमा वा कुनै कथा, किम्बदन्तीका आधारमा स्थापित गरिएतापनि यी सबै मानव निर्मित हुन् भन्ने कुरा हामीले बिर्सिनु भने हुँदैन । सबै आधारहरु समाजलाई सामाजिक प्रकृयामा रुपान्तरण गर्दै आपसी सद्भाव कायम राख्नका लागि पूर्वजहरुबाट नै स्थापित गरिएका मूल्य र मान्यताहरु हुन् । जुन समय सापेक्ष परिवर्तन हुँदै जान्छन् र जानु पनि पर्दछ । तर, परिवर्तनका नाममा विकृति विसङ्तिहरु भित्रिनु भने राम्रो कुरा होइन ।
दशैंको नवरात्री अनि टिका र जमराको आफ्नै महत्व रहेको छ भने तिहारको यमपञ्चकमा गरिने कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, गोवद्र्धन पूजा र भाइटिकाको पनि आफ्नै वैशिष्ट्यता रहेको छ । जसको महत्व प्रकृतिको पारिस्थितिक पद्धति र मानिसको जनावरसँगको घनिष्ठताका बारेमा पनि रहेको कुरा सहजै आँकलन गर्न सकिन्छ ।
तिहारको अर्को विशेषता भनेको देउसी भैलो हो । देउसी भैलोको प्रचलन पनि सदियौंदेखि चल्दै आएको हो । गाईको पूजा गरेपछि देउसी र त्यसभन्दा अगाडि भैली खेल्ने चलन यद्यपी छँदैछ । तर, यसको मौलिकता, अर्थ र महत्व पनि हामीले विस्तारै विर्संदै गएका छौं । मलाई यो आलेख तयार गर्दै गर्दा आदरणीय श्रष्टा नारायण रायमाझीको भर्खरै मात्र आएको चलचित्र परदेशीमा समेटिएको एउटा गीतको यो टुक्राले चसक्क छोएको छ । जसले यहाँहरुलाई पनि छोला भन्ने लागेको छ ः
बाउलाई खायो अल्सरले, छोरो पल्सरले ।
हाम्रो संस्कृतिलाई खायो, बहिरी कल्चरले ।।
यो यथार्थ हो जुन तीतो लाग्न सक्छ यहाँहरुलाई । उपरोक्त गीतको दुई लाइनमा भनिएझैं हाम्रो गाउँसमाजमा यस्ता घटनाहरु दुरुस्तै घटेका छन् । ठ्याक्कै उस्तै नभएपनि यस प्रकृतिसँग मेल खाने घटनाहरु पनि पक्कै घटेका छन् ।
पहिले पहिले देउसी भैलो खेलेर जम्मा गरिएको आर्थिकलाई गाउँ समाजका परोपकारी कार्यका लगि लगाउने प्रचलन थियो । देउसी खेलेर जम्मा गरिएको रकमले गाउँमा विद्यालय भवन, मन्दिर, चौतारी, प्रतिक्षालय, सार्वजनिक भवन, आयमूलक भवन, कुनै समूहमा सामूहिक कामका लागि लागनी गरिन्थ्यो । तर, आजभोली देउसी भैलो र पिकनिक पर्याय बन्दै गएको छ । कुनै पनि दान भनेको पुण्य कार्यका लागि गरिन्छ । तर, देउसी भैलो खेलेर लिइएको दानलाई उही निर्दोश पशुहरुलाई काटमार गरी शरीलाई हानी गर्ने अखाद्य पदार्थहरु, नशालु पदार्थहरु खाएर पिकनिकका नाममा होहल्ला गर्दै विदेशी पप र ¥यापमा मोजमस्ती गरेर उडाइन्छ । यति मात्र हैन कि पिकनिक जाँदा खोला वा नदीमा डुबेर, गाडीबाट खसेर ज्यान गएका पनि कयौं घटनाहरु हामीले देख्दै, भोग्दै र सुन्दै आएका छौं । अझ पिकनिकमा हुने साथी साथीका बिचको विवादले उग्र रुप लिँदा पनि झैझगडाका कारण पनि कयौंले ज्यान गुमाउने गरेका छन् भने मोजमस्तीका नाममा गरेका गल्तीले जेलको हावा खान पर्ने अवस्था आइपरेका पनि घटनाहरु छन् । साथै प्राकृतिक मनोरम दृश्यहरुमा गएर रक्सीका बोत्तल र प्लास्टिकजन्य वस्तुहरुले त्यहाँको सुन्दरतामा पनि ह«ास आउँदै गएको छ । यसकारण देउसी भैलीबाट संकलन गरिएको रकमलाई समुदायको सर्वोपरी हितमा खर्च गर्ने हो भने आजका युवापुस्ताहरुलाई समुदायले सम्मान गर्ने थियो र भोलीका पिँढीहरुले समेत स्मरण गर्ने जीवन्त आधार बन्ने थियो ।
खानका लागि बाँच्ने कि, बाँच्नका लागि खाने भन्ने कुरा हामीले राम्ररी बुझ्नु जरुरी छ । चाडबाडको लामो विदा पछि अर्थात तिहारको भोलिपल्ट खोलिएका केही विद्यालयहरुमा विद्यार्थीहरुको सङ्कट परेको छ । चाडबाडको लगत्तै विद्यालय खोलेर पठनपाठन सञ्चालन गर्न खोज्नु साह्रै राम्रो कुरा हो तर विद्यालय प्रशासनको यो प्रयासलाइ विद्यार्थी, समुदायले नराम्रोसँग झापड लगाएका छन् । त्यसकारण अव यसका सम्बन्धमा पनि आम अभिभावकहरु तथा सरोकारवालाहरुले चेतना भर्नु जरुरी छ । विद्यालय खोल्ने विद्यार्थीहरु नआउने भएपछि कसलाई पढाउने हो त ? तसर्थ देउसी भैलो खेलेर पिकनिक जानुभन्दा केही सामाजिक काममा लगानी गर्न प्रोत्साहन गर्न सकिएमा बालबालिकाहरुलाई पनि हामीले गरको काम भनेर पछिसम्म पनि गर्व गर्ने वातावरण समाजमा बन्ने थियो । सकारात्मक सोच तथा संस्कारको विकास गर्न सकिने थियो ।
अर्को कुरा के भने भारतको अघोषित भनिएको नाकावन्दीका कारण पनि जनजीवन प्रभावित भैरहेको छ । कतिपयले हामी नै यसका दोषी छौं भनेर आरोप लगाएपनि यसको मूल दोषी को हो भन्ने विषयमा भने छानविन हुँदै गर्ला तर यस्तो अवस्थामा पिकनिक भन्दै टाढा टाढाका स्थानहरुमा जानु अनावश्यक खर्च गर्नु पक्कै पनि राम्रो हुँदै होइन । मितव्ययी बन्नुपर्ने अवस्थामा यस्तो गतिविधी गर्नु पक्कै राम्रो हुँदैन । ‘हामी नेपाली के को स्वाभिमानी....’ भनेर लोकगायक पशुपति शर्माले भनेझैं लगाउने लुगा त परैको कुरा खाने नुन देखि सियो सम्मका लागि पनि विदेशीसँगै भर पर्ने अवस्थामा यसरी पिकनिक गएर मोजमस्ती गर्नु राम्रो कुरा हो जस्तो लाग्दैन ।
जीवन आफ्नो लागि मात्रै होइन, सामाजिक प्राणी भएका कारण हाम्रो यो जीवनसँग अरु धेरैको अपेक्षाहरु गाँसिदै जान्छ भन्ने कुरा पनि राम्ररी बुझ्न जरुरी छ हामीले । त्यो अपेक्षा भनेको घरपरिवार, समुदाय, अनि सिङ्गो राष्ट्रको पनि त हुन सक्दछ । खै ! हामीले त्यो अपेक्षा बुझन् सकेको ? खै त समाजका लागि केही गरेको ? के हामी खाएर मर्नका लागि मात्र जन्मेका हौं त ? कि केही गर्नका लागि ? यदि केही गर्नका लागि जन्मेका हौं भने आजैदेखि एउटा योजना बनाएर पवित्र काममा लाग्ने कि ?
0 comments
Write Down Your Responses