गुलेलीले छाक जोहो गर्दै कृष्णगोपाल


प्रभात सुवदी । मंसिर २४, बर्दिया ।
अनुहार भरी सेता काला दाह्री र जुङ्गा, जीवनले कूल आयुको आधाआधी काटीसेकेको अवस्था, अघिपछिको ज्याला मजुरीको कामलाई माया मारेर चिसो मौसममा एकाबिहानै हातमा गुलेली र मट्याङ्ग्रा लिएर ऊनी विहानै घरबाट निस्कन्छन् । अनि युद्धमैदानमा गुलेलीको सहयोगबाट सकेसम्मको बल र निशाना लगाएर उनी प्रहार गर्दछन् शत्रुहरुलाई तर बडो सावधानीका साथमा । आफू सुरक्षित भएर दिनभरी हातमा गुलेली चलाएर थकित भएपछि आराम र मनोरञ्जनका लागि रेडियो पनि सुन्छन् उनी ।
गुलरिया नगरपालिका वडा नं. ३ खैरापुर हुँदै सानोश्री ताराताल नगरपालिका जाने बाटोमा पुराना सिमलका रुखहरुमध्ये अहिले जम्मा तीनओटा रुखहरु मात्र रहेका छन् । ती रुखहरुमा मौरी बस्न थालेको झण्डै आधा शताब्दी हुन आँटेको छ । उहाँले जान्दा वि.सं. २०३० सालदेखि नै मौरी बस्न थालेको बताउनुहुन्छ स्थानीय ५२ वर्षीय कृष्णगोपाल ठठेर । एउटा रूखमा मात्रै ३०÷४० घार मौरी बस्ने गरेकोमा यसपाली भने बर्खाको समयमा राम्रो पानी नपरेका कारण र मौसम पनि मौरीको लागि त्यति अनुकूल नभएको र मौरीको लागि प्रसस्त चरन नएकाले गर्दा त्यहाँ भएका तीनओटा रूखहरुमध्ये एउटामा मात्रै अहिले जम्मा २१÷२२ घार मात्रै बसेको उहाँ बताउनुहुन्छ । जबकी विगतका वर्षहरुमा एउटा रुखमा मात्रै ३५÷४० को हाराहारीमा बस्ने गरेको ठठेरको भनाई छ ।
आफ्नै घरको आँगन नजिककैको रूख भएपनि नगरपालिकाबाट ६ महिनाका लगि रु. ३ हजार ८ सयमा ठेक्का लिनुभएको छ उहाँले । तर, यसरी ठेक्का लिएबापत यस सम्बन्धी कुनै प्राविधिक सेवा सुविधा नपाएको उहाँको गुनासो रहेको छ । ठूलो रूख भएका कारण मौरी काड्न पनि गाह्रो अनि बाटो नजिक भएकोे कारणले गर्दा कहिलेकाहीँ चराचुरुङ्गीहरुले मौरीलाई जिस्क्याउँदा पनि मौरी भाग्ने र वरपर मानिसहरुलाई आक्रमण गर्ने भएकोले यो ठूलो समस्या बनेको उहाँ बताउनुहुन्छ । मौरी जिस्किएको अवस्थामा बाटो नै बन्द हुने गरेको उहाँ बताउनुहुन्छ । मौरी काड्न जान्ने दक्ष मान्छे र प्राविधिक उपकरणहरु नहुँदा पुरा मह निकाल्न नसकिएकोले सिजनमा जम्मा जम्मी ४०÷५० किलो मात्र मह निकाल्ने गरेको कृष्णगोपाल ठठेर बताउनुहुन्छ । गत वर्षसम्म तीनसय रुपैया प्रति किलो बेचेको तर यसपाली देखि भने चार सय रुपैया प्रातिकिलो बेच्ने विक्री गर्ने गरी दर तय गरेको उहाँ बताउनुहुन्छ ।
उचित लगानी र प्रोत्साहन दिन सकिएमा यस क्षेत्रमा रहेका सिमलका रूखहरुमा बस्ने मौरीहरुबाट औषधीय गुण भएको गुणस्तरीय मह प्रसस्त उत्पादन गरी यसबाट मनग्गे आम्दानी लिन सकिने कुरामा कुनै शन्देह छैन । समयमा नै जिल्ला कृषि विकास कार्यालय तथा सम्बद्ध निकायहरुको ध्यान जाओस् ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News