घर-घरमा ग्यास जोड्ने हो ? हेर्नुहोस् टेकुको ग्यास स्टेशन !

काठमाडौं । घाँसैघाँसले भरिएको काठमाडौंको टेकुस्थित प्राकृतिक ग्यास स्टेशनमा फेरि चहल-पहल सुरु भएको छ । २० वर्ष बन्द रहँदा घाँस र बुट्यानको झाडीले घेरिएको ‘ग्यास स्टेशन’ घाँस स्टेशनजस्तो देखिएको थियो । अब यसको रुप फेर्न थालिएको छ ।

विगत २० वर्षदेखि थन्किएको सरसफाइ गर्ने मेसिन बाहिर निकालिएको छ र त्यसलाई चलाएर ग्यासको कुवा सफा गर्ने तयारी भइरहेको छ । यो तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले घर-घरमा ग्यासको पाइप पुर्‍याउने उद्घोष गरे पछि सुरु भएको हो ।

ग्यास कुवामा भरिएको माटो र बालुवा निकालेर ग्यास निकाल्न प्राविधिकहरु खटिएका छन् । तर, यो कुवा सफा गर्ने मेसिनको पम्प बिग्रिएको छ । त्यसैकारण काम सुरु गरिहाल्न नसकिएको प्राविधिकहरुले बताए ।

तर, पम्प आउनासाथ मेसिन चलाएर झण्डै ३ सय ५० मिटर गहिरो कुवाको सफाइ गर्ने तयारी भएको छ । यसबाट प्रधानमन्त्रीले भनेजस्तो घर-घरमा ग्यासको पाइप पुर्‍याउने काम गर्ने बाटो खुल्ने अपेक्षा छ ।

सम्भव छ ?
टेकुका स्थानीय रामेश्वर महर्जनलाई घर-घरमा ग्यास पाइप पुर्‍याउने कुरा असम्भव लाग्दैन । किनभने उनले यो कुवाबाट ग्यास निकालेर टेकु क्षेत्रका सरकारी कार्यालय, अस्पताल लगायतमा वितरण भएको देखेका छन् । ‘यो ठाउँबाट ग्यास निकालेर बाँडेको नै हामीले देखेका छौं’ महर्जनले भने-‘सबै प्राविधिक कुरा हामी जान्दैनौं । तर, यहाँबाट फेरि पनि ग्यास निस्किन्छ ।’

स्टेशनमा भेटिएका खानी विभागका सिनियर डि्रलर शिबप्रसाद रिजालसँग यही स्टेशनबाट ग्यास निकालेर वितरण गरेको अनुभव नै छ । ‘४१ सालदेखि मैले यो ग्यास कुवामा काम गरेेको थिएँ । यहाँ मैले २४ घण्टसम्म काम गरेर यसमा ग्यास भर्ने काम गरेको थिएँ’ रिजालले भने ।

२०४१ देखि २०५३ सासम्म यहाँबट उत्पादन भएको ग्यास पाइपमार्फत शुक्रराज ट्रपिकल अस्पताल, भेटेरेनरी अस्पताल, सेनाको मेस, सुन्धाराको टेलीग्राफ र कारागार लगायत सरकारी स्वामित्वमा कार्यालयमा वितरण हुने गरेको थियो ।

त्यतिबेला टेकुकै फोहोर संकलन केन्द्र नजिकै त्रिपुरेश्वरमा खनिएका अन्य दुई कुवाको ग्यास वितरण प्रणाली एउटै थियो । ‘यो अर्काले बनाइदिएको प्रणालीलाई पनि हामीले सदुपयोग गर्न सकेनौं’ डि्रलर रिजालले भने-‘बहुदल आएपछि यस्ता ग्यास स्टेशन हेलामा पर्‍यो । हामी भएको चीजलाई पनि सदुपयोग गर्न चाहेनौं । त्यसैले आज पूर्ण रुपमा परनिर्भर भएका छौं ।’

उनले भने जस्तै यो कुवा नेपाल सरकारले नभई जापानी सहयोग नियोग -जाइका) को सहयोगमा ०४० सालतिर नै खनिएको हो । त्यहाँ प्रयोग भएको सबै सामाग्री जापान सरकारले नै ल्याएका हो र यसको जडान पनि उसैले गरेको हो ।

यो कुवाबाट पानीसहित ग्यास निस्किन्थ्यो । फिल्टरेन मेसिनमा राखेर पानी र ग्यासलाई छुट्याइन्थ्यो र विभिन्न प्रशोधन मेसिन हुँदै बुलेटमा पुर्‍याइन्थ्यो । यो ग्यास तरल नभई हावाकै रुपमा हुने भएकाले सिलिन्डरमा भर्न सकिँदैन ।

यसलाई पाइपमार्फत मात्रै वितरण गर्न सकिन्छ । त्यसै अनुरुप प्रधानमन्त्री ओलीले पनि ‘घर-घरमा पाइप पुर्‍याएर चाहिएजति प्रयोग गर्ने र टुकीबाट बन्द गर्ने व्यवस्था गर्ने’ सुनाएका थिए ।

काठमाडौंमा प्राकृतिक ग्यास रहेको बार अध्ययन गरेर जाइकाले नेपाललाई यसको प्रयोगमा प्रोत्साहन गर्न गर्न टेकुमा दुईवटा र त्रिपुरेश्वमा एउटा कुवा आफ्नै लगानीमा खनेको थियो । ती कुवाबाट निस्किएको ग्यासलाई सरकारी अड्डाहरुमा पुर्‍याउने वितरण प्रणाली पनि जाइकाले नै विकास गरेको थियो ।

भारतले २०४५ सालमा नाकाबन्दी लगाएका बेला त्यसलाई पछ्याउँदै तत्कालीन पञ्चायती सरकारले काठमाडौंको अन्य ११ ठाउँमा पनि त्यस्तै कुवा खन्यो र ग्यासका बुलेटहरु राख्यो । काठमाडौंको ह्युमत टोल र ललितपुरको इमाडोलमा २/२ वटा तथा भृकुटीमण्डप, शंखमुल, कोटेश्वर, जडिबुटी, तिनकुने, टिकथली र टेकमा थप एक/एकवटा कुवा खनिएको थियो ।

बहुदलको पुनरागमनपछि ०४७ तिर ती कुवाहरुलाई वितरण प्रणालीमा जोड्ने र घर-घरमा पाइपलाइन मार्फत ग्यास पुर्‍याउने योजना रोकियो । सबै भारतबाट आउने सिलिन्डरमा भर्ने ग्यासतर्फ आकषिर्त भए ।

सरकारले सञ्चालनमा रहेका टेकु र त्रिपुरेश्वरका ग्यास कुवालाई दिने बजेट पनि कटौती गर्‍यो । बजेट नभए अप्ठेरो अवस्था रहँदा-रहँदै पनि ०५३ सालको सुरुवातसम्म ति कुवाबट ग्यास निकालिएको ग्यास वितरण हुँदै थियो । तर, ३/३ वर्षमा सफा गर्नुपर्ने ग्यास कुवा वर्षोसम्म सफा नगरेपछि उत्पादन बन्द भयो । त्यसलाई सफा गर्नेतर्फ तत्कालीन सरकारले कुनै ध्यान दिएन ।

तर, २० वर्षपछि भारतले लगाएको नाकाबन्दीले काठमाडौंमा ग्यासको हाहाकार भएपछि ओली नेतृत्वको सरकारका आँखा ती कुवामा परेको छ । त्यसैका कारण बुलेटलाई छोपेर बसेको झाडी फाँडिएको छ भने खिया लागेको मेसिन निकालेर कुवा सफा गर्ने तरखर भएको छ ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News