प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त लोकतान्त्रिक मोर्चा आक्रोशित बनेको छ। सहमतिका लागि प्रयास नै नगरी प्रचार बढी गरेको भन्दै मोर्चा आक्रोसित बनेको हो। सरकार मधेसी मोर्चाबीच मंगलबार हुने भनिएको वार्ता पनि वार्ता नभई डेलिगेशन मात्रै हुने मोर्चाले जनाएको छ।
प्रधानमन्त्री कार्यालयले भने तीन बजे मधेसी मोर्चासँग बालुवाटारमा बैठक हुन जानकारी दिएको छ तर मोर्चाले भने तीन बजे वार्ता नभई डेलिगेशनका लागि आफूहरू दाहाललाई भेट्न जान लागेको स्पष्ट पारेको छ।
तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले वार्ता नभई आफूहरू डेलिगेशनका लागि जाने बताए। ‘सरकारसँग हाम्रो कुनै छलफल भएको छैन तर सरकारले सहमतिको नजिक पुगेको तथा छिट्टै सहमति हुनेजस्ता हल्ला फिजाएर भ्रममा पार्ने काम गरिरहेको छ,’ उनले भने, ‘वार्ता नभइकन किन वार्ता भयो भनेर भन्नुभयो? हामी प्रधानमन्त्री र मिडियालाई यही कुरा भन्न बालुवाटार जाँदैछौं।’
पहिला त सरकार र कांग्रेसले औपचारिक प्रस्ताव लिएर आउनुपर्ने यादवको भनाइ छ। ‘त्योभन्दा पनि पहिला सरकारले एमालेसँग पनि छलफल गर्नुपर्छ। अनि मात्रै सहमतिको खाका तयार हुनसक्छ,’ यादवले भने।
संविधानमा सीमाङ्कन, नागरिकतालगायत विषयमा असहमति राख्दै मोर्चा लामो समयदेखि आन्दोलनरत छ।
0 comments
Write Down Your Responses