चीनसँग इन्धन खरिद सम्झौता
सन्तोष घिमिरे/राजेश बर्मा | २०७२ कार्तिक १२ बिहीवार 498 पटक
काठमाडौं: भारतको नाकाबन्दीका कारण इन्धन संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी चीन र नेपालबीच इन्धन ल्याउने समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ।
यो सम्झौतासँगै नेपालमा पेट्रोलियम बिक्रीका लागि भारतीय आयल कर्पोरेसनको ४० वर्षदेखिको एकाधिकार अन्त्य भएको छ।नेपाल आयल निगम र चीनको नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) बीच दीर्घकालीन रूपमा नेपालले चीनसँग इन्धन आयात गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
चीनका लागि नेपाली राजदूत डा. महेश मास्कले अन्नपूर्णसँग टेलिफोनमा कुरा गर्दै समझदारीपत्रमा अब चीनबाट पनि पेट्रोल, ग्यास र डिजेल आयात गर्न नेपाललाई ढोका खुलेको बताए। ‘नेपालमा देखिएको तत्कालको इन्धन संकट अन्त्य गर्नुमात्रै नभएर दिगो रूपमा इन्धन चीनबाट आयात गर्ने उद्देश्यले सम्झौता भएको हो,' मास्केले भने।
चीनले पनि विदेशी मुलुकलाई इन्धन निर्यात गरेको पहिलोपटक हो। 'उनीहरूले अन्य कुनै पनि मुलुकलाई हालसम्म इन्धन निर्यात गरेका छैनन्,' उनले भने।नेपालका तर्फबाट इन्धन सम्झौतामा आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले हस्ताक्षर गरेका छन् भने पेट्रो चाइनाका तर्फबाट उपाध्यक्ष चाओ तोङले हस्ताक्षर गरेका छन्।
मास्केका अनुसार चीनले अनुदानमा उपलब्ध गराउने एक हजार मेट्रिक टन पेट्रोलका लागि पनि बुधबारै चिनियाँ पक्षसँग सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
चीनसँग अल्पकालीन तथा दीर्घकालीन 'फ्रेमवर्क' सम्झौतामा संवाद गर्न नेपाली राजदूत मास्केको नेतृत्वमा परराष्ट्र, वाणिज्य, कानुन मन्त्रालय, आयल निगम र गुणस्तर तथा नापतौल विभागका अधिकारीहरू तीन दिनअघि बेइजिङ पुगेका थिए।
नेपाली टोलीले मंगलबार चिनियाँ वाणिज्य मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग पहिलो चरणको वार्ता गरेको थियो।वार्तामा चिनियाँ अधिकारीहरू उत्साहजनक रूपमा प्रस्तुत भएपछि सम्झौता सम्भव भएको राजदूत मास्केले बताए।
'चीनका अधिकारीहरू भारतले हाम्रो मुलुकमा लादेको नाकाबन्दी र अहिलेको इन्धन संकटबारे पूर्ण रूपमा जानकार रहेछन्। उनीहरूले नेपाललाई जस्तोसुकै सहयोग गर्न आफूहरू तत्पर रहेको बताए,' मास्केले भने, 'अन्यथा दुईतीन दिनभित्रै यति महत्वपूर्ण समझदारीमा पुग्न सम्भव थिएन। सम्झौता हुनसक्यो, निकै खुसी छु।'
चीनले इन्धन सम्झौताका लागि नेपालबाट ठोस प्रतिबद्धता चाहेको बताउँदै उनले नेपाल र चीनको राजनीतिक नेतृत्वबीच पूर्ण रूपमा छलफल भएपछि सम्झौता सम्भव भएको जानकारी दिए।'चीनलाई पूर्ण रूपमा आश्वस्त पारेपछि निकै छोटो समयमा सम्झौता सम्भव भएको छ,' उनले भने। चीनबाट अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थको बारोबार हुनेछ।
आयल निगमसँगको मात्र नभई नेपालका सबै सरकारी निकायबीचको समन्वयमा इन्धन सम्झौता गर्न चाहेको भन्ने चिनियाँ नेतृत्व र सरकारलाई आश्वस्त पार्न परराष्ट्र, वाणिज्य, कानुन मन्त्रालय, आयल निगम र गुणस्तर तथा नापतौल विभागका अधिकारी पनि बेइजिङ पुगेको राजदूत मास्केले बताए।
नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापा, आपूर्तिमन्त्री गणेशमान पुनलगायतसँग चीनसँगको इन्धन सम्झौताबारे परामर्श गरेर चीन गएको उनले बताए।नेपालले चीनबाट इन्धन लैजानेसम्बन्धी फ्रेमवर्क एग्रिमेन्ट भएको जानकारी दिँदै चीनसँग निकट भविष्यमा अर्को सम्झौता हुने बेइजिङस्थित नेपाली दूतावासका अधिकारीले बताए।
राजदूत मास्के नेतृत्वको नेपाली टोली बिहीबार तिब्बतको ल्हासा पुग्नेछ। ल्हासामा रहँदा टोलीले त्यहाँका उच्च अधिकारीसँग भेटी भूकम्पका कारण क्षति भएका रसुवागढी र तातोपानी नाका सुधार तथा स्तरोन्नतिबारे कुरा गर्नेछ। 'ल्हासाका अधिकारीहरूसँग अबका दिनमा चीनबाट निर्यात हुने इन्धन सहज रूपमा नेपालतर्फ कसरी पठाउने र त्यसका लागि दुवै देशले कसरी मिलेर काम गर्ने भन्नेबारे कुरा हुनेछ,' मास्केले भने।
राजदूत मास्केले अनुदानमा चीनले उपलब्ध गराउने एक हजार मेट्रिक टन अनुदानको पेट्रोल शनिबारसम्म काठमाडौं पुग्ने जानकारी दिए। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई तिब्बत सरकारले एक हजार मेट्रिक टन इन्धन नेपाललाई दिने जानकारी बुधबारै गराएको छ।
महावाणिज्य दूतावासका अनुसार रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई केरुङ नाकामा आयोजित एक समारोहबीच एक हजार मेट्रिक टन इन्धन हस्तान्तरण गरिनेछ। केही प्रक्रियागत समस्याका कारण नेपाललाई इन्धन संकटका बेला अनुदानको इन्धन उपलब्ध गराउन ढिलाइ भएकोसमेत तिब्बत सरकारले नेपाली महावणिज्य दूतावासलाई अवगत गराएको छ।
चीनबाट पेट्रोल ल्याउन ६० ट्यांकर
चीनले अनुदान सहयोगमा उपलब्ध गराउने भनेको पेट्रोल भित्र्याउन आयल निगमले ६० वटा ट्यांकर तयारी अवस्थामा राखेको छ। निगमले इन्धन ल्याउन थानकोट डिपोमा ट्यांकर तयारी अवस्थामा राखेको हो।
केरुङ हुँदै रसुवागढी नाकासम्म बुधबार आइपुग्ने भनिएको पेट्रोल बुधबार साँझसम्म उक्त नाकामा आइपुगेको छैन। निगमको थानकोटस्थित डिपो प्रमुख रवीन शर्माले बुधबार साँझसम्म ‘नाकासम्म चीनबाट इन्धन बोकेको ट्यांकर आइपुगेको विषयमा कूटनीतिक नियोगबाट कुनै जानकारी प्राप्त भएको छैन,' शर्माले बुधबार साँझ भने, 'तर पनि ६० वटा ट्यांकर स्ट्यान्डबाई छ।'
ट्यांकर पृथ्वी राजमार्गबाट रसुवागढी जान बाटो छुट्टिने धादिङको गल्छीमा राखिएको छ।निगमका अनुसार पहिलो चरणमा ४० वटा ट्यांकरमार्फत चार लाख ८० हजार लिटर र बाँकी नौ लाख २० हजार लिटर दोस्रो र तेस्रो चरणमा गरी २० वटा ट्यांकरमार्फत पेट्रोल ल्याउने तयारी छ। 'दोस्रो लटमा २० वटा ट्यांकरको प्रयोग गरी दुईपटक गरेर पेट्रोल भित्र्याउने तयारी छ', उनले भने।
उनका अनुसार चीन सरकारको अनुदान सहयोगमा एक हजार चार सय किलोलिटर (१४ लाख लिटर) पेट्रोल ल्याउन लागिएको हो। चिनियाँ ट्यांकरबाट यहाँको ट्यांकरमा 'सक्सन पम्प' मार्फत खन्याइनेछ। ल्हासाबाट सिगात्से र सिगात्सेबाट केरुङसम्म चिनियाँ ट्यांकरले इन्धन ढुवानी गर्नेछ।
केरुङबाट नेपाली ट्यांकरबाट उक्त इन्धन लोड गरेर थानकोट डिपोमा ल्याइनेछ। रसुवागढीबाट थानकोट डिपोसम्म इन्धन ल्याउन आठ घन्टा लाग्ने निगमले जनाएको छ।चीनले युरो ४ मापदण्डको पेट्रोल उपलब्ध गराउन लागेको छ।
निगमले भारतसँग हालसम्म युरो ३ मापदण्डको इन्धन खरिद गर्दै आएको छ। अनुदान सहयोगमा प्राप्त हुने पेट्रोल भने सरकारले तय गरेको पहिलेकै मूल्यमा बिक्रीवितरण गर्नेछ।
निगम स्रोतका अनुसार नेपाली नम्बर प्लेटको ट्यांकर चालकलाई चीनले केरुङ जान अस्थायी प्रवेश पास बनाइदिनुपर्छ। यसका लागि ढुवानीकर्ताले चालक र सहचालक सहित सवारीसाधनको विवरणसमेत दिनुपर्छ।
निगमले ढुवानी गर्ने गाडीको नम्बर, चालक र सहचालकको नाम मंगलबार नै नेपालस्थित चिनियाँ दूतावासमा बुझाइसकेको छ। यही विवरणका आधारमा चीनले प्रवेश पास उपलब्ध गराउने व्यवस्था गरेको छ।
यसैबीच अनुदानमा प्राप्त हुने इन्धनको आयातका लागि थप छलफल गर्न रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र रसुवाका प्रहरी नायब उपरीक्षक अवदेश बिष्ट केरुङ गएका छन् भनेर अन्नपूर्ण पोस्टमा प्रकासित छ
0 comments
Write Down Your Responses