वीरगन्ज नाका खुल्यो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता
कार्यकर्ताले अवरुद्ध गरेको वीरगन्ज–रक्सौल नाका
आज बिहानदेखि खुल्ला भएको छ।
वीरगन्जको मितेरीपुलमा धर्ना बसेका मोर्चाका नेता
कार्यकर्ताहरुलाई हस्तक्षेप गरी प्रहरीले अवरुद्ध नाका
खुल्ला गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी सीमा
सुरक्षा कार्यालय पर्साबाट खटेका प्रहरी टोलीले बिहान
करिब ४ बजेको समयमा धर्नास्थलमा हस्तक्षेप गरी
नाका खुल्ला गराएको स्थानीय प्रशासनले जनाएको छ ।
नाका खुल्ला भएपछि विगत दुई महिनादेखि वीरगन्जमा
थन्किएका भारतीय वाहनलाई भारततर्फ पठाउने काम सुरु
गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ
।वीरगन्जको इनवास्थित भन्सार एरियामा थन्किएका ५००
बढी वाहनलाई भारततर्फ पठाउने कार्य भइरहेको प्रहरीले
जनाएको छ ।
नाकामा प्रहरीले गरेको हस्तक्षेपको विरोध गर्दै
वीरगन्जका विभिन्न स्थानमा टायर बाली प्रदर्शन
भइरहेको छ ।
आन्दोलनकारीले मितेरीपुलमा लगाएको पाललाई प्रहरीले
जलाई नष्ट गर्नुका साथै अन्य सामानसमेतलाई आफ्नो
नियन्त्रणमा लिएको छ । नाकामा प्रहरी हस्तक्षेप
भएपछि वीरगन्ज नगरको अवस्था तनावपूर्ण बनेको छ ।
यसैबीच, नाका खुलाउने क्रममा प्रहरीको
कामकारबाहीमा बाधा उत्पन्न गर्ने चारजना व्यक्तिलाई
नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी
केशवराज घिमिरेले बताए ।
पक्राउ गरिएको व्यक्तिको परिचय हाल नखुलेको बताउँदै
प्रजिअ घिमिरेले उनहरुलाई आवश्यक अनुसन्धानका लागि
जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको बताए ।
पहिलो चरणमा नेपालतर्फ थन्किएका वाहनलाई भारततर्फ
पठाउने र भारतीय पक्षसँगको सल्लाहपछि भारतमा
थन्किएका वाहनलाई नेपाल भित्र्याउने कार्य सम्भव भए
आजैदेखि हुने प्रजिअ घिमिरेले बताए ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News