मोदीसँग अडानका साथ कुरा राखें – प्रधानमन्त्री ओली
काठमाडौं, फागुन १४– प्रधानमन्त्री के.पी.शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । सत्ता साझेदार दलका नेताहरुलाई बिहीबार बालुवाटारमा भ्रमणको बिषयमा ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट आफूले भारतीय समकक्षीसँग अडानसाथ कुरा राखेको बताउनुभयो ।
‘अडानका साथ आफ्ना कुरा राखियो’ ओलीले भन्नुभयो, ‘संविधानसभाको ९०प्रतिशत बहुमतले संविधान जारी गरेको हो । यसमा तपाईंहरुको रिजरभेसन किन भनेर प्रष्टसँग सोधें । यसमा मोदीजीले हाम्रो चाहना त केवल तपाईंहरु मिलेर जानुहोस भन्ने मात्र हो भन्नुभयो ।’
भारतलाई सिधै नेपालको सरकारसँग सम्बन्ध राख्न आफूले भनेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । ‘दुई चार जना मान्छेसँग होइन नेपालका बारेमा सिधै सरकारसँग कुरा गर्नुपर्छ भने’ ओलीले नेताहरुलाई जानकारी दिदै भन्नुभयो ।
बंगालदेशबाट अब सिधै नेपालमा सरसामान आयात गर्न सकिने सहमतिलाई ठूलो उपलब्धीका रुपमा लिुनपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । भारतका बिभिन्न ठाँउमा आफूलाई भब्य स्वागत भएको ओलीले नेताहरुलाई जानकारी गराउनुभयो । भारतीय नागरिकको पनि नेपालप्रति देखाएको सद्भावलाई प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभयो ।
केही सञ्चार माध्यममा आएजस्तो भारतीय पक्षबाट हिन्दु राष्ट्रको बिषयमा कुनै कुरा नउठाइएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीसँगै रहेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भ्रमण समग्रमा उपलब्धीमुलक रहेको बताउनुभयो । ‘अहिलेको अवस्थामा भारतमा प्रधानमन्त्रीजीलाई गरिएको भब्य स्वागत सम्मान र उहाँले अडानका साथ कुरा राख्न सक्नुभयो यसलाई महत्वपूर्ण उपलब्धी मान्नु पर्छ ’ प्रचण्डले भन्नुभयो ।
ब्रिफिङमा उपस्थित नेताहरुले भ्रमणपछि नेपाल र भारत सम्बन्ध थप सुमधुर हुने अपेक्षा गरिएको बताए । कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री बिजय कुमार गच्छदार नेकपा मालेका महासचिब एवं उपप्रधानमन्त्री सि.पी. मैनाली, राप्रपा नेपालका नेता लोकेन्द्र बहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं उपप्रधानमन्त्री चित्रबहादुर के.सी, नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान बिजुक्छे लगायतको उपस्थिती थियो ।
उज्यालो
0 comments
Write Down Your Responses