हावाहुरीमा स्कूलको बलो र थाम समातेर बसे ह्यारी
चैत्र १६
बेलायतका राजकुमार ह्यारी सोमबार दिउँसो
दुई बजेतिर लापुबेसीको प्रभातकिरण माविका विद्यार्थीसँग भेटघाट कार्यक्रममा
सरिक हुन जाँदै थिए । उनी विद्यालयमा मात्र पुगेका थिए, एक्कासी हावाहुरी
चल्न थाल्यो ।
‘ठूलै हावाहुरी चल्यो । उनी हत्तपत्त
विद्यालयको अफिस कोठाभित्र छिरे’ प्रधानाध्यापक जीव गुरुङले भने, ‘हामी
शिक्षक स्टाफहरु नाल, थाम, बलो समातेर बसेका थियौं । उनी पनि त्यसै गर्न
थाले ।’ आजको अन्नपूर्णमा समाचार छ ।
२० मिनेट जोडदार हावाहुरी चलेको उनले बताए
। ‘२० मिनेटसम्म हुरी चल्यो । कक्षा कोठाको जस्ता सबै उनकै आँखा अगाडि
उँडायो । यो देखेर उनी डराएका पनि थिए’, प्रअ गुरुङले भने ।
त्यतिबेला कक्षा आठका विद्यार्थीहरु
जिल्लास्तरीय परीक्षा दिइरहेका थिए । ‘छानो उडाएपछि जाँच दिइरहेका
विद्यार्थीहरु भागाभाग भयो’ प्रअ गुरुङले भने ‘नैतिक बिषयका जाँच दिइसकेर
स्थानीय बिषयको जाँच दिन थालेका थिए । जाँचै अधकल्चो भयो ।’ स्थानीय बिषयको
परीक्षा भएकाले विद्यालयले नै निर्णय गरेर अर्को परीक्षा लिने उनले बताए ।
हावाहुरी थामिएपछि ह्यारीले शिक्षक
विद्यार्थीहरुसँग सामुहिक तस्वीर खिचाएका थिए । प्रकोप आइरहने भएकाले पक्की
विद्यालय भवन चाँडो बनाउन सुझाव दिएका थिए ।
‘आज शिक्षक, विद्यार्थीसँग भेटघाट गर्ने
कुराकानी गर्ने कार्यक्रम थियो’ प्रअ गुरुङले भने, ‘मैले हिजो नै सबै
विद्यार्थीहरुलाई परीक्षा दिइसकेपछि ह्यारीसँग भेटघाट गर्ने कार्यक्रम
रहेको जानकारी गराएको थिएँ । तर मौसमले साथ नदिँदा लामो कार्यक्रम हुन सकेन
।’
भेटघाटमा ह्यारीले विद्यार्थीहरुको
समस्याको बारेमा जानकारी लिएका थिए । खाने, बस्ने, विद्यालय आउने समस्याको
बारेमा सोधेका उनले बताए । विद्यार्थीसँग भेटघाट कार्यक्रम तय भएकाले
सोमबार ह्यारी विद्यालय भवन निर्माणको काममा सहभागी भएका थिएनन् । उनी
मंगलबार फर्कन सक्ने प्रअ गुरुङले जनाए ।
हावाहुरीले सो विद्यालयको छात्रबासको
त्रिपाल पनि उडाएको छ । छात्रबास उडाएपछि त्यहाँ बस्ने ४० जना विद्यार्थीको
बिचल्ली भएको ब्यबस्थापन समितिका सदस्य सोम गुरुङले टेलिफोनमा जानकारी दिए
।
0 comments
Write Down Your Responses