कुपोषण हटाउन सुआहारा
लक्ष्मण ढुंगाना
बर्दिया, १ चैत्र
बर्दिया सुर्यपटुवा–३, कैलाशीकी १८ बर्षिय फुलरानी थारु सुत्केरी भएको ६ महिना भयो । यतीवेला बच्चालाई कुपोषण नहोस भन्नाका लागि उनी विशेष सर्तकता अपनाउदै छिन । सुत्केरी अवस्थामा बच्चासंगै आमाले पनी हजार दिनको समयसम्म पोषिलो खाना खानुपर्ने भएकोले आरामका साथै पोषणयुक्त खाना खानुपर्ने उनको भनाई छ । ‘जन्मेको दुईवर्षभित्र पोषणयुक्त खाना खाएन भने बच्चाको दिमाग बृद्धिहुदैन ।’ उनले भनिन् ‘बच्चाको असी प्रतिशत दिमाग बृद्धिहुनेवेला अरुबेला भन्दाबढी खानपानमा ध्यान दिनैपर्दछ ।’
सुआहारा कार्यक्रमका महिला स्वास्थ्य स्वयसेविका मार्फत पोषिलो जाउलो, सर्वोत्तम पिठोकोे लिटो, गेडागुडीको हलुवा, फर्सीको खीर, फर्सी र अन्डाका परिकार लगायत बनाउन जानेको उनको भनाई छ ।
फर्सी, गेडागुडी तथा अन्डाको विभिन्न परिकार बनाउन सिकाउने कार्यक्रमलाई गाउँघरका हजार दिनका आमाहरूले सकारात्मक रूपमा लिएका छन् । पोषिलो खाना बनाउन सिकाउदै गरेकी महिला स्वास्थ्य स्वयमसेवीका लक्ष्मी थापाले बच्चालाई फरक फरक स्वादका खानेकुरा बनाउन सिकाएर बच्चाको खानपानमा परिवर्तन ल्याएको बताईन । ‘यहाँ बच्चाकै लागि भनेर छुट्टै खाना बनाएर खुवाउने प्रचलन थिएन,’ उनले भनीन ‘हामीले सिकाएपछि बच्चाकै लागि भनेर छुट्टै स्वादका परिकार बनाउन थालेको प्रत्यक्ष देख्ने सकिने परिवर्तन आएको छ ।’
शुरु–शुरुमा लक्ष्मी र उनीजस्तै स्वयंसेविकाहरुले आमाहरुलाई बुझाउन निकै कसरत गर्नु परेको अनुभव उनले सुनाईन । पोषिलो खानेकुरा बनाउन सिकाउदा निकै झर्कोमान्ने गर्दथे, अहिले सुआहारा सम्बन्धि चेतनाले समग्र समुदायको खानपान तथा स्वस्थ्य समाज निर्माणमा जिवनस्तर नै फेरिन थालेको उनको भनाई छ । पहिले झर्को मान्नेहरु नै हाल पोषणयुक्त खानपान र सरसफाईमा सबैभन्दा बढी ध्यान दिन थालेका छन उनले भनिन् ‘आफू र बच्चालाई चाहिने पोष्टिक खाद्यान्न, कुखुरा र तरकारी आफैँ उत्पादन गर्दैछन ।’ कैलासी गाउँमा जस्तै बर्दिया जिल्लाभरी नै सुआहारा कार्यक्रम संचालन भएपछि ग्रामीण क्षेत्रका बालबालीका र महिलाहरुको स्वास्थ्य तथा सरसफाईमा सुधार आएकोे छ ।
हजार दिनका आमा र बच्चाहरुको पोषणको अवस्थामा सुधार ल्याउनु र खास गरि कुपोषणका कारण उत्पन्न बिद्यमान बच्चाहरुको पूड्कोपनाको दरमा कमि ल्याउनु सुआहाराकोे प्रमुख लक्ष्य रहेको युएसएआईडी सुआहारा कार्यक्रमका जिल्ला संयोजक गान्धीराज वाग्लेले बताए ।
न्युन पोषणका कारकहरुलाई सम्बोधन गरी समुदायमा आधारित व्यवहार परिवर्तनका माध्यमबाट व्यक्ति, परिवार र समुदायको व्यवहारलाई प्रभावित पार्न १६ वटा पोषण सूचाङ्ग कमजोर भएको जिल्ला मध्येको वर्दियाका सवैगाविस र नगरपालीकामा कार्यक्रम लागु भएको उनकोभनाई छ ।
स्थानिय जनजागरण महिला संघको सहयोगमा ११४ जना हजार दिने आमा र ३० जना स्वयमसेवीकालाई हिउदे विउ वितरण गरेको, ७१ जना ग्रामिण नमुना कृषकलाई १० वटाका दरले ८ हप्ते कुखुराका चल्ला वितरण गरेको, १८ गाविसमा गाविस स्तरिय पोषण तथा खाद्द सुरक्षा समिति गठनमा सहयोग, गाविस सचिवहरुका लागि सुआहारा र बहुक्षेत्रिय पोषण योजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम लगायतका काम एकबर्षको अवधिमा गरेको जानकारी उनले दिए ।

सुत्केरी महिलाका लागि सवैभन्दा ठुलो आफ्नो स्वास्थ्य र खानपानमा सुधार गर्नुपर्ने भएकोले सुनौलाहजार दिनका आमाहरुका लागि यो कार्यक्रम बरदान सावीत भएको जनजागरण महिला संघकी अध्यक्ष गोमा पौडेलको भनाई छ ।
0 comments
Write Down Your Responses