चैत्र दोश्रो सातादेखि बर्दियाका विभिन्न सामुदायिक बनमा लागेको डढेलोबाट झण्डै दुई करोड बराबरको क्षति

दोश्रो सातादेखि बर्दियाका विभिन्न सामुदायिक बनमा लागेको डढेलोबाट झण्डै दुई करोड बराबरको क्षति भएको छ । जिल्लाका विभिन्न सामुदायिक बनहरुमा लागेको डढेलोले बनमा रहेका काठ, दाउरा, खर तथा बनपैदावार जलेर कूल दुई करोड बराबरको क्षति भएको जिल्ला बन कार्यालय बर्दियाले जनाएको छ ।
गएको चैत्र दोश्रो हप्तादेखि सोमबार बेलुकासम्म विभिन्न समयमा लागेको डढेलोले दुई करोड बढिको क्षति भएको सहायक बन अधिकृत टंक गुरुङले बताउनु भयो । यो बिचमा बर्दियाको खाता करिडोर, बसन्ता क्षेत्र र बानियाभार गाविसका विभिन्न ठाउँमा रहेका सामुदायिक बनमा डढेलो लागेको छ । डढेलोबाट जिल्लाका विभिन्न स्थानमा रहेको १२ सय हेक्टर बन सखाप भएको अधिकृत गुरुङले बताउनु भयो ।
ढोढरी सेक्टर बन कार्यालय सानोश्रीका सहायक बन अधिकृत समेत रहेका  गुरुङले बसन्ता इलाका बन कार्यालयको कम्पाउन्डमा घाटगद्धी गरेर राखिएको करिब १५ सय क्यू फिटका विभिन्न जातको काठ र १३ चट्टा दाउरा समेत जलेर नष्ट भएको बताउनु भयो । उहाका अनुसार सबैभन्दा पहिला चैत्र दोश्रो सातातिर बानियाभार गाविसको वार्ड नं. १ स्थित सहमति सामुदायिक बनमा डढेलो लागेको थियो ।
त्यसपछि विभिन्न बनहरुमा आगलागीका घटनाहरु भएका थिए । डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, बन कार्यालय, स्थानीय बन उपभोक्ता समुह तथा गुलरिया नगरपालिकाको दमकल समेत परिचालित गरिएको थियो । सबैको सक्रिययताले बनमा लागेको डढेलो नियन्त्रणमा ल्याइएको बन कार्यालयले जनाएको छ । चर्को खडेरी र हावा हुरीका कारण अझै आगलागीका घटनाहरु बढ्न सक्ने अनुमान गरिएको छ ।
चर्को खडेरीले पातपतिंगर सुक्दै जाने र जमिन सुख्खा हुँदै जाने भएकाले आगलागीका घटनाहरु बढ्न सक्ने अनुमान गरिएको हो । हावा हुरीका कारण आगोका फिलंगाहरु उडाएर लैजाने र अर्को ठाउँमा आगलागी फैलिदै जाने अबस्था आएकाले जिल्लाका विभिन्न सामुदायिक बनहरुमा लागेको डढेलो नियन्त्रणमा ल्याउन ठूलो संकट बेहोर्नु परेको थियो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News