गर्भवती बनाएर श्रीमान् भागेपछि… बिचल्लीमा मञ्जिरा र छोरी!
चैत्र १९
मनिका झा/जनकपुरधाम: अन्तरजातीय प्रेम विवाह गरेको चार महिनापछि श्रीमान् फरार भएपछि धनुषामा एक दलित युवतीको बिचल्ली भएको छ । नौ सय बिघा गाविस ६ बस्ने २१ वर्षीया मन्जिरा दासको अन्तरजातीय प्रेमविवाह गरेका श्रीमान्ले गर्भ बोकाएर फरार भएपछि बिचल्ली भएको हो । उनी न्याय पाउन पाँच महिने छोरो काखी च्यापेर प्रहरी प्रशासनमा पुगेकी छन् ।
दलित परिवारकी मन्जिरा आफ्नै गाउँका सम्वृद्ध परिवारका रामदयाल यादवका २३ वर्षका छोरा विपीन यादवसँग प्रेममा परिन् । विपीन उच्च जातका केटा भएकाले गाउँ समाज एवं घरपरिवारमा दलित जातकी केटीसँग विवाह गर्दा स्वीकार गर्ने अवस्था थिएन । यो अवस्था नभएपछि उनीहरूले २०७१ जेठ २२ गते सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको मन्जिराले बताइन् ।
![]() |
फोटो फाइल : बिपिन यादव र मन्जिरा दास । |
विवाह भएको चार महिनापश्चात् मन्जिरा गर्भवती भइन् । बच्चा भएपछि घरपरिवारले स्वीकार गर्ला भनेर आस पलाएकी मन्जिरालाई केही दिनमै एकाएक विपीन डेरा छोडेर फरार भएपछि उनलाई थप समस्या भएको हो । चार महिनाकी गर्भवती श्रीमतीलाई छाडेर पति वीपीन फरार भएको १० महिना बितिसक्दा पनि हिलेसम्म फोनसम्म नआएको मन्जिराले दुखेसो पोखिन् ।बिहेपछि समाजको डरले गाउँ नफर्केर आफूहरू विराटनगरमा डेरा लिएर बस्न थालेको उनको भनाइ छ । मन्जिराले भनिन्, ‘त्यतिबेला विपीनको घरपरिवारबाट कहिले कहीँ फोन आउँदा तल्लो जातकी केटीसँग बिहे गरेर भागिस्, तिमी खुरुक्क त्यो केटीलाई छोडेर आऊ भन्दै बोलाउने गर्थे ।’
अहिले उनी आमाबुबाको सहयोगमा ५ महिनाको छोरा बोकेर श्रीमान् खोज्न लागि परेकी छन् । श्रीमान् पत्ता लगाई दिन भन्दै मन्जिराले विवाह गरेको प्रमाणसहित जिल्ला प्रहरी कर्यालय धनुषाअन्तर्गत महिला तथा बालबालिका कार्यालयमा निवेदन दर्ता गराएकी छन् ।
प्रहरीले निवेदन परेपछि जिल्ला प्रहरी कार्यलयमा उपस्थित गराएका विपीनका बुबा रामदयाल यादवले आफ्नो छोरा दुई वर्षदेखि बेपत्ता भएको दाबी गरेका छन् । उनले छोरो नभेटेसम्म मन्जिरा आफ्नो बुहारी रहेको र उनको काखको बच्चा आफ्नो नाति रहेको नस्वीकार्ने अडान राखेका छन् ।
मन्जिरासँग कोर्ट म्यारिज गरेको प्रमाणपत्र रहेकाले कानुनी रूपमा अंश दिलाउने महिला तथा बालबालिका कार्यालयकी अध्यक्ष मिना केसीले बताइन् ।
विपीनका बुबाले छोरा बेपत्ता भएको भने पनि हालसम्म खोजीका लागि कहीँ कतै उजुरी नदिएको अवस्थामा उनीहरूले नै विपीनलाई लुकाएर राखेको हुनसक्ने केसीको भनाइ छ ।
0 comments
Write Down Your Responses