गगन थापाले गिरफ्तार गराए पत्रकार श्रेष्ठलाई


नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाको समाचार लेखेको भन्दै प्रहरीले पत्रकार चन्द्रमान श्रेष्ठलाई पक्राउ गरेको छ । जनदिशा दैनिकका पूर्व प्रवन्ध सम्पादक रहेका श्रेष्ठलाई आज साँझ नेपाल सन्देश डटकमको सामाखुसीस्थित कार्यालयबाट गिरफ्तार गरेको हो ।

स्रोतका अनुसार गगन थापाकै उजुरीका आधारमा प्रहरीले पत्रकार श्रेष्ठसहित ३ जना अरु पत्रकारलाई पक्राउ गरेको हो । श्रेष्ठसँगै पत्रकारहरु केशरमणी कटुवाल र अजय सापकोटालाई पनि प्रहरीले अनलाईनको कार्यालयबाट पक्राउ गरेको थियो । प्रहरीले पत्रकार कटुवाल र सापकोटालाई छाडे पनि श्रेष्ठलाई भने छाडेको छैन । श्रेष्ठ नेपालसन्देशका सम्पादक रहेका थिए ।

केही दिन अघि नेपालसन्देश डटकम अनलाईनले गगन थापाले बोलेको भन्दै एउटा समाचार प्रकाशित गरेको थियो । सो समाचारमा नेपालले भारतसँग निहु खोजेर गल्ती गर्यो भन्ने आशयको अभिव्यक्ति गगन थापाले दिएको भन्दै लेखिएको थियो । भारतका विरुद्ध उत्रने नेपाली जनता भेडा हुनः गगन थापा भन्ने शिर्षकमा प्रकाशित समाचारकै विषयलाई लिएर थापाले प्रहरीमा उजुरी गरेको बताइएको छ । उनले आफूले यस्तो अभिव्यक्ति कतै नदिएको दावी गर्दै प्रहरीमा उजुरी हालेका थिए ।

गगनको उजुरीपछि प्रहरीले छानविन गर्न भन्दै नेपाल सन्देशको कार्यालयमा छापा मारेर श्रेष्ठसहितका पत्रकारहरुलाई गिरफ्तार गरेको हो । साथै प्रहरीले नेपालसन्देशको कम्प्युटरसहितका अन्य सामाग्रीहरु पनि नियन्त्रणमा लिएको छ ।

यसैबीच समाचार लेखेकै कारण पत्रकारहरुलाई गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउनेले प्रहरीको व्यवहारप्रति आपत्ती जनाएका छन् । उनले सञ्चार माध्याममा आएका सामाग्रीहरुका बारेमा हेर्ने निकाय प्रहरी नभएर प्रेस काउन्सील भएकाे भन्दै गिरफ्तार पत्रकारहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

प्रहरीले यसअघि पनि खासगरी अनलाइन मिडियामा काम गर्ने पत्रकारहरुलाई दुःख दिने काम गरेको, अनलाईनमा प्रकाशित सामाग्रीलाई विद्युतीय कारोबार ऐनसँग जोडेर साइबर अपराध जस्तो गम्भीर मुद्दा समेत लगाउने गरेको भन्दै यो निन्दनीय कार्य भएको उनले बताए । प्रहरीको व्यवहारले संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै संविधानप्रदत्त मौलिक हकको उल्लंघन गर्नेहरुमाथि कारवाही गरिनु पर्ने माग उनले राखे ।  

साथै देशकाे नीति निर्माणजस्ताे तहमा रहेका नेता गगन थापाले शक्तिकाे दुरुपयाेग गरेकाे सचिव चलाउनेले बताएका छन् । सञ्चार माध्यममा प्रकाशित सामाग्रीका बारेमा अाफ्नाे चित्त नबुझे उजुरी कहाँ दिने भन्ने थाहा हुँदा हुँदै पनि नेता थापाले नियतवस शक्तिकाे दुरुपयाेग गर्दै प्रहरीमा उजुरी दिएकाे उनकाे भनाइ छ । प्रहरीलार्इ लगाएर गिरफ्तार गराउनु र पत्रकारलार्इ दु:ख दिनु उनकाे कमजाेरी रहेकाे भन्दै यस विषयमा प्रष्ट पार्न पनि नेता थापासँग उनले माग गरेका छन् । 
श्रोत : ननस्टप खबर डटकम

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News